नभन भो आफ्नै मान्छे, आफ्नै सँग घात हुन्छ 
तिमी भन्छौ जुन राम्रो जुन सँग नि रात हुन्छ 

दिन्छ प्रकाश दियालोले आफु जली गएपनि 
हास्ने फुलको वरिपरी काँडाहरुको खात हुन्छ 

भन्न खोज्छन् सधैं हासँ हल्लिएर पातहरु 
नसुसाउने समुन्द्रको पनि आफ्नै जात हुन्छ 

कस्ले भन्छ सुर भित्र बेहोशीको नशा हुन्छ 
पिइ हेर दुग्ध मह त्यहाँ बढी मात हुन्छ 


मर्छन् अरे सच्चा प्रेमी, नमरिदेउ बिन्ती तिमी
बिश्वास गरी चोखो माया, नगरिदेउ बिन्त्ती तिमी 

डाहा गर्लान् दुनियाँले, बैसालु त्यो यौबन देखि 
कसैको आश्वासनमा, नपरिदेउ बिन्त्ती तिमी 

तारिफ गर्ने धेरै होलान्, देखि रुप रङ्ग तिम्रो 
मुस्कुरौदै नजिक् नजिक्, नशरिदेउ बिन्ती तिमी 

भुन्भुनाउदै भमराले, बाटो छेक्न आउलान तिम्रो 
चमेली झै मिठो सुबास्, नछरिदेउ बिन्ती तिमी 

मर्छन् अरे सच्चा प्रेमी, नमरिदेउ बिन्ती तिमी
बिश्वास गरी चोखो माया, नगरिदेउ बिन्त्ती तिमी


आँखा जुध्दा नजरहरु झुकाएर गयौ 
के के थियो मनमा कुरा लुकाएर गयौ 

कल्पनामा पिरतिको माला उनेको थे 
यथार्थमा गाठो तेस्को फुकाएर गयौ 

बादलका आकृतिमा तस्वीर तिम्रै खोज्थे 
मुहान थियो भाबनाको सुकाएर गयौ 

निसब्ध नै भएपनि वार्तालाप त थियो 
बाधेको मन खोल्ने मौका चुकाएर गयौ 

माया गर्ने मायालुको माया नबुझेर 
तिमीलाई नै राख्न्ने यो मन दुखाएर गयौ


जानीजानी मेरो मुटु तोडेर गल्ती गर्यौ 
आजफेरी अन्तै नाता जोडेर गल्ती गर्यौ 

साथहुँदा यौटै भन्थ्यौ लक्ष यो जिन्दगीको 
एक्लै छोडी, आफ्नो बाटो मोडेर गल्ती गर्यौ 

आफैंलाई रित्याएर भर्दै थें तिमीलाई 
स्वार्थी बनि शंकाहरु गोडेर गल्ती गर्यौ 

जति गाएँ तिम्रा गीत सङ्गीत बनि बनि 
लाग्छ, हाम्रो सुर ताल छोडेर गल्ती गर्यौ 

जिउनु नै सबै हैन केहि गर्नुछ भन्ने 
आदर्शका शिशा आफ्नै फोडेर गल्ती गर्यौ


भावनाका हारभरी तिम्रै नाम उनेको छु 
उर्लिएका बैंशभेल तिम्रै लागि थुनेको छु 

भन्छन् सबै अन्जानको हुन्न अरे कुनै भर 
तर मैले सपनामा त्यही रुप बुनेको छु 

पत्तै छैन कत्ति चाडो सजिएछौ मन भित्र 
हर्ष भर्ने खानि छौ रे ! मैले त्यस्तै सुनेको छु 

पर्खी बसें जिवनमा धेरै आए आशा बोकी 
गल्ती भए माफ गर मात्रै तिमी चुनेको छु 

भिडमा छु आखाँ घुम्छ तिमी खोजी टोलाऊछु 
जीवनको शेष मेरो तिमी संगै गुनेको छु


जुन छुने यात्रा तिम्रो रोकियो की कसो ? 
रुन्न भन्थ्यौ, आँशु त्यसै पोखियो की कसो ? 

बगैंचाको फूल जस्तै ठान्ने यो, जीवन 
नफूली नै मन्दिरमा चोख्खियो कि कसो ? 

पिरतीको चिनो भनि दिएको गुलाब 
दोबाटोको धुलो माथि रोपियो कि कसो ? 

प्रेम युद्ध जिती भोज गरौंला भन्नेको 
रण शुरु गर्दै घुंडा ठोकियो कि कसो ? 

तिम्रै बाटो हेरी हेरी साँचेको जोवन 
सपना मै मिठो फल टोकियो कि कसो ?


Powered by Blogger.