ए कान्छा !
भनी देउ न
मायाँ कहाँ बस्छ ?
आँखामा या मनमा 
फुलमा या रङ्गमा ?

हेर त !
ति मान्छे भन्नेहरु के विधि
लुच्छाचुँडी गर्दैछन् 
मानौँ, बर्सौँपछि
हाटबजार लाग्दैछ मायाँको

बेच्दै गरेकी दिदि
किन्दै गरेका दाई
युद्ध जितेँझैँ मुस्कुराउँदैछन् 
तिमी चाँही
त्यही बाटोहुँदै रित्तै आयौ
यसपाला पनि पोहोर जसरी नै

उ त्यता हेर त !
कति मस्ति गर्दैछन् ति जोडीहरु
मानौँ, स्वर्ग नै तल झरेकोछ यतिखेर
धर्यताको बाँध टुटेर
खुलेआम
सडकमै चुम्बनको बर्षा छ

तिमी छौ एउटा
अझै पनि एक हात पर बसेर 
बल्ल बल्ल लम्कंदै भन्छौ
प्रिय
तिम्रो लिपिस्टिक विग्रिएछ । 




म सँगै हिँड्न चाहन्थें
तिमीले बिदा माग्यौ 
म फेरि मोडिएँ 
तिमी अलिकति पोखियौ
समय उभिरह्यो
तिमी मलाई हेरिरह्यौ 
मैले तिमीलाई हेरिरहे

सोचें;
अब तिमी रोकिनेछौ
म रोकिनेछु
समय रोकिनेछ
तर अहँ ! त्यसो भएन 

तिमी हिँड्यौ
समय हिँड्यो
तिम्रो पदचापको मिठो धुन सँगै
केही भनुँला/केही गरुँलाझैँ गरेर
म मात्र रोकिरहें 
तिम्रो आकृतिमा !



दयाको भिक्षा दिएझैँ
नदेउ मलाई 
तिम्रो करोडौँको समय

मन नलागि नलागि 
चाहिँदैन, मिठा लाग्ने 
ति झुठा मुस्कानहरु

तिमी बाँच, बाँच आफ्नै संसारमा
बेफुर्सदिले बाँच या फुर्सदै फुर्सदमा बाँच

कुनै अनुरोध हुनेछैन
कुनै सोधाई हुनेछैन 
न रहनेछन् कुनै गुनासाहरुनै
अब देखि 
बस् तिमी बाँचिराख.......


 
 
अचेल
बिम्बहरु
लेख्दा लेख्दै भागिदिन्छन्
भाग्दा भाग्दै आईपुग्छन्

ए ! कवि
भनिदेउ न
के आजको सिमसिम पानी
म भित्र जस्तै
तिमी भित्र पनि
हिउँ बनेर हिउँ सँगै खसिरहेछन् त
कबिताहरुको सम्झनामा.................!!!


Powered by Blogger.